Home फिचर गोविन्द पोखरेलको निर्वाचन अनुभूति : वामपन्थीले मतदाताको ब्रेन वास गरिदिएका छन्

गोविन्द पोखरेलको निर्वाचन अनुभूति : वामपन्थीले मतदाताको ब्रेन वास गरिदिएका छन्

134
0
SHARE

२०७३ को पुसमा तत्कालीन सरकारले राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेपछि डा. गोविन्द पोखरेल नयाँ सीईओमा नियुक्त भएका थिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पोखरेल योजनाविद् पनि हुन् । पुनःनिर्माणको प्रमुख जिम्म्ोवारीबाट राजीनामा दिएर पोखरेल प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेसका तर्फबाट प्युठानमा उम्मेदवार बने । वाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलसँग १६ हजार २२८ मतान्तरले पराजित भए । पोखरेलको चुनावी अनुभूति, पुनः निर्माण प्राधिकरणमा उनले गरेका कार्य र नेपाली काङ्ग्रेसको अबको बाटोका विषयमा गरिएको कुराकानी ।

वामपन्थीले मतदाताको ब्रेन वास गरिदिएका छन् 
चुनाव असाध्यै राम्रो रह्यो । प्युठानको चुनावमा हामीले एक खालको संस्कारको पनि विकास गर्यौँ । हामीले प्रतिस्पर्धी दल र उम्मेदवारको कुनै ठाउँमा नाम पनि लिएनौँ । व्यक्तिको कुनै पनि आलोचना गरेनौँ । विरोध त परै जाओस्, नेपाली काङ्ग्रेस के हो ? समाजवाद के हो ?  काङ्ग्रेसले जित्यो भने के गर्छ भन्ने कुरा गर्यौँ । प्युठानमा नौलो सुरुवात गर्यौँ ।

प्रतिस्पर्धीहरूले २५ प्रतिशत शेरबहादुर देउवालाई गाली गरे ।  ५० प्रतिशत नेपाली काङ्ग्रेस र बाँकी २५ प्रतिशत गोविन्द पोखरेललाई गाली गरेर विताउनु भयो । पछिपछि उहाँहरूलाई पनि दबाब पर्यो । केही सुधार्नु भयो । कम्युनिस्टको स्कुलिङ नै गाली गलौजबाट भएको हो । विकासका एजेन्डाभन्दा पनि स्थापितलाई गाली गर्ने परम्परा छ । कम्युनिस्टको स्कुलिङले आएको पनि होला । हामीले त्यसो गरेनौँ ।  विकास निर्माण र आर्थिक समृद्धिका कुरा गर्यौँ ।

२०७० को चुनावी मतपरिणाम अनुसार पहिलो, दोस्रो र तेस्रो दल एकातिर थिए ।  अर्कोतिर म थिएँ । उहाँहरू क्याडर बेस पार्टी र नेपाली काङ्ग्रेस मास बेस पार्टी  । जनतामा एक प्रकारको स्कुलिङ छ । विपक्षको गाडी पनि चढ्नु हँुदैन, भैँसी पनि किन्न हुँदैन भन्ने । त्यो संस्कारलाई  चिर्न सकिने समयावधि कम भयो ।

२०७० मा जिल्लाभर नेपाली काङ्ग्रेसको १२ हजार ८०० मत थियो । अहिले हामीले ३१ हजारभन्दा बढी मत ल्यायौँ । समानुपातिकमा एमालेभन्दा नेपाली काङ्ग्रेस एक हजार ९१७ मतले प्युठानमा पछि छ । स्थानीय मतको आधारमा भन्नुपर्दा ४० हजार मतान्तर थियो । त्यसलाई १६ हजारमा झारियो । जिल्लाको सुगम क्षेत्रका  शिक्षित मतदाताले मलाई मत दिएका छन् । सहरी क्षेत्रमा नेपाली काङ्ग्रेसलाई मत बढी आएको छ । दुर्गममा विपक्षीले मतदाताको बे्रन वास गरिदिएका छन् । त्यसलाई चिर्न हामीले सकेनौँ । एजेन्डा बेच्न सकेनौँ ।

 

किन आए राजनीतिमा ? 
मैले पुनः निर्माण प्राधिकरणमा पाएको जिम्मेवारी राजनीतिक नियुक्ति हो । लोक सेवा पास गरेर पाएको नियुक्ति होइन । राजनीतिक नियुक्ति गर्नेले तपार्इं चुनाव लड्नुपर्छ भन्नुभयो । म चुनाव लडेँ । राजनीतिक नियुक्ति खुला प्रतिस्पर्धाबाट आए जस्तो हुँदैन ।

पुनः निर्माण प्राधिकरणमा मेरो कार्यकालमा त्यहाँ भएका प्रावधानलाई सहज र खुकुलो बनाएँ । नीतिगत कुरा केही बनाउनुपर्ने त्यहाँ (पुनः निर्माण प्राधिकरण) छैन । कार्यान्वयनको मात्रै कुरा हो । संयन्त्रमा अनुभवी व्यक्तिलाई ल्याएर छोडेर गएको हुँ । सिस्टम बनिसकेको छ । अब अन्तर मन्त्रालय समन्वयको काम गर्ने हो । अन्ततः कार्यान्वयन गर्ने निकाय मन्त्रालय नै हुन् । म हुनु वा अर्को हुनुमा अन्तर छैन । म मात्रै भए स्टेट चल्छ भन्ने पनि त होइन ।

मेरो कार्य प्राधिकरणको नौँ महिनाको तथ्याङ्कमा  हेर्नसक्नुहुन्छ । सात लाख ५० हजारमा नक्कली भूकम्पपीडितहरू पनि छन् । धेरै व्यक्तिहरूको तुरुन्त घर बनाउने सोच पनि छैन । पुसको मसान्तसम्म निमार्णाधीन घरहरू तीन लाख पुग्छन् । यो गति  पाकिस्तान, इन्डोनेसियाभन्दा बढी हो । गुजरातको गतिलाई भने भेट्न सक्दैनौँ । ४० प्रतिशत समय सकिँदा ४२ प्रतिशत काम भएको छ । पत्रकारले लेखेर मात्रै भएन नि । जनशक्ति नै छैन । पत्रकारको लेखाइ पूर्वाग्रही छ । उहाँहरू  वास्तविकताभन्दा पर हुनुुहुन्छ । एक उदाहरण ः गोरखाको फुजेलमा ५४ जनालाई घर बनाउने तालिम दिएका थियौँ । ४ जना मात्रै बाँकी थिए ।

जनशक्तिको अभाव र विपन्न वर्गको आर्थिकमा पहुँचका कारणले अलिकति ढिलो भएको हो । मजस्तै काम गर्न सक्ने अन्य पनि छन् । सामाजिक सञ्जालमा मलाई भूकम्पपीडितको आँसु लागेको भन्नेहरू आडम्बरी हुन् । मैले मागेर सीईओ भएको होइन । राजनीतिक नियुक्ति हो । सक्षम व्यक्ति आउनुभएको छ ।

विकासको मर्म बुझेको व्यक्ति संसदमा हुनुपर्छ । राजनीति मात्रै बुझेर हुँदैन । त्यसैले मैले प्रयास गरेको हुँ । मेरो राजनीतिक क्षेत्रमै सक्रिय हुने इच्छा हो । आफ्नो तथा अन्य दलका निर्वाचितहरूसँग मिलेर लगानी वातावरणका लागि पहल गर्ने हो । संसदमा भएको भए कार्यान्वयन गर्ने अवस्था हुने थियो भने अब लबिङको भूमिकामा हुन्छु । पदमा रहे÷नरहे पनि माहोल सिर्जना गर्ने हो ।

वर्तमान गतिरोध बारे 
मेरो व्यक्तिगत विचारमा प्रतिनिधि सभा पूर्ण भएको छैन । वर्तमान सरकार त कामचलाउ भइसकेको छ । किन राजीनामा दिनुपर्यो ? प्रतिनिधि सभामा कुन कुन सांसद आए हामीलाई थाहा छैन । निर्वाचन प्रक्रिया नै पूरा भएको छैन । उहाँहरूको राजनीतिक दम्भ हो । कामचलाउ प्रधानमन्त्रीले सरकार चलाइरहेको छ । अर्को सरकार नभएसम्म उहाँ केयरटेकर प्रधानमन्त्री हो । नयाँ सरकारका लागि प्रधानमन्त्रीले सहजीकरण गरिरहनुभएको छ । अलिकति जितको दम्भ भयो ।

किन हार्यो नेपाली काङ्ग्रेस ? 
हाम्रो सङ्गठानात्मक कमजोरी भए । एउटा दल क्याडर बेस भयो, अर्को मासबेस दल भयो । क्याडरबेसलाई मास बेसले जित्न गाह्रो हुने रहेछ । दुइटै क्याडर बेस पार्टी एक ठाउँ भए । नेपाली काङ्ग्रेसको मत घटेको होइन । एक्लाएक्लै लडेको भए नेपाली काङ्ग्रेस नै ठूलो दल हुने रहेछ । विपक्षीहरू एक ठाउँ भएको समयमा नेपाली काङ्ग्रेसले आफ्नो बल पुर्याउन सकेन ।

वाम गठबन्धनले नै हो नेपाली काङ्ग्रेस पराजित हुनुको मुख्य कारण । टिकट वितरणको असन्तुष्टि सहायक कारण हो । चुनावी समीक्षाका लागि केन्द्रिय समिति बस्ला । महासमिति वा महाधिवेशनका पनि आफ्नै प्रक्रिया छन् । नेपाली काङ्ग्रेसमा दलको सभापतिलाई गाली गर्ने छुट पनि छ । अरू दलले  कारवाही गरिहाल्छन् । सरकारबाट पो हट्न मिल्छ । दलको सभापतिबाट तुरुन्त छोड्ने कुरा हुँदैन । निर्वाचन प्रक्रिया सकिसकेको छैन । केन्द्रिय समिति बैठक पनि छिट्टै बस्ला ।

पार्टी मात्रै छ भनेर रहने अब समय छैन । हामी अब सङ्गठनमै जानुपर्छ । प्रतिस्पर्धी दलको हरेक राज्यका हरेक अङ्गमा सङ्गठन छ । उनीहरूसँग प्रतिस्पर्धा गर्न सङ्गठनमा जोड दिनुपर्दछ । सङ्गठन विस्तारको रणनीति हुनुपर्छ । मतदाता आधारित सङ्गठन बनाउने र एजेन्डासहित नेपाली काङ्ग्रेस जानुपर्छ ।

साभारःरातोपाटी

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here